एजेन्सी । घरेलु टोली वेष्ट इण्डिजले इंग्ल्यान्डविरुद्धको पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा जित निकालेको छ । शनिबार राति भएको खेलमा वेष्ट इण्डिजले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्यो ।
अन्तिम खेल वेष्ट इण्डिजले जितेसंगै दुई टोलीबीचको पाँच खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ । दुई टोलीबीचको तेस्रो खेल बर्षाको कारण नतिजाविहीन बनेको थियो ।
ग्रोस आइसलेटमा इंग्ल्यान्डले दिएको ११४ रनको सामान्य लक्ष्य वेष्ट इण्डिजले १२ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इण्डिजको जितमा क्रिस गेलले विस्फोटक ब्याटिङ गर्दै ७७ रनको योगदान दिए । गेलले २७ बलमा ५ चौका र ९ छक्का प्रहार गरे ।
यस्तै शाइ होपले १३ तथा शिम्रोन हिटमेयरले ११ रन बनाए । इंग्ल्यान्डका मार्क वुडले २ तथा क्रिस वोक्सले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड २८ ओभर १ बलमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो ।
इंग्ल्यान्डका लागि जोस बट्लर र एलेक्स हलेसले समान २३/२३ रन जोडे । कप्तान इयान मोर्गन १८ रनमा आउट हुँदा बेन स्टोक्स १५ रनमा आउट भए । इंग्ल्यान्डलाई सस्तैमा समेट्न वेष्ट इण्डिजका ओसाने थोमस एक्लैले ५ विकेट लिए । यस्तै कार्लोस ब्रेथवेट र जासन होल्डरले समान २/२ विकेट लिए ।