एजेन्सी । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित निकालेको छ । शनिबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा अष्ट्रेलियाले दिएको २३७ रनको लक्ष्य भारतले ४८ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा केदार जादब र महेन्द्र सिंह धोनीले अर्धशतकीय इनिङ्स खेले । जादब ८१ रनमा अविजित रहदा धोनीले अविजित ५९ रनको योगदान दिए ।
यस्तै कप्तान विराट कोहलीले ४४ रन बनाउदा रोहित शर्मा ३७ रनमा आउट भए । अष्ट्रेलियाका आडम जाम्पा र नाथन कुन्टर नाइलले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २३६ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले ५० रनको अर्धशतकीय इनिङस खेले । यस्तै ग्लेन म्याक्सवेलले ४०, मार्कस स्टोइनेस ३७, एलेक्स केरी ३६ तथा नाथन कुन्टर नाइल २८ रन जोडे ।
त्यस्तै अस्टन टर्नरले २१ र पिटर ह्याण्ड्स्कम्बले १३ रन जोड्दा कप्तान एरोन फिन्च डक आउट भए । भारतका मोहमद सामी, जस्प्रित बुम्रा र कुलदिप यादवले समान २/२ विकेट हात लिए ।
जितसंगै भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । घरेलु टोलीसंगको टी-ट्वान्टी सिरिज भने अष्ट्रेलियाले जितिसकेको छ ।