पोखरा । पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि भिड्न आज (शनिबार) हुँदैछ । फाइनलमा भिड्दै छन् दुई चिरपरिचित प्रतिद्वन्दी - रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब ।
पोखरा रंगशालामा हुने फाइनल खेल अपरान्ह १ बजे सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा राष्ट्रिय टोलीका खेलाडीले भरिएका दुई टोलीको लक्ष्य उपाधि चुम्नु हुनेछ ।
पोखरेली समर्थकको प्यारो क्लब थ्री स्टार पाँचौ पटक उपाधि जित्ने अभियानमा छ । पोखरेली फुटबलका ठुला स्टार अनिल गुरुङलाई समेत करियरको अन्तिमतिर घरेलु मैदानमा उपाधि जित्ने अवसर छ ।
तर, थ्री स्टारका कप्तान बिक्रम लामाले फाईनल खेलमा कुनै दबाब नरहेको बताउछन् ।
‘आर्मी बलियो टिम हो । उत्कृृष्ट टिम फाईनलमा पाएका छौ । खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।’ फाइनल अघि कप्तान बिक्रमले भने ।
विभागीय टिम आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन । तर, १७ औ संस्करणको फाईनलमा त्यो ईतिहास रच्ने अवसर आर्मीलाई छ ।
राष्ट्रिय टिमका स्टार भरत खवास, नवयुग श्रेष्ठ र विकेश कुथु लगायतका खेलाडीलाई फाईनल खेल एउटा परिक्षा पनि हो ।
आर्मीका कप्तान भरत खवासले दुवै टिम बलियो भएको बताउँदै फाईनल निकै प्रतिस्पर्धात्मक हुने र टोलीले इतिहास रच्ने बताए ।
‘अहिलेसम्म जितेका छैनौ, हामी ईतिहास बनाउनेछौ ।’ कप्तान भरतले भने ।
विजेता टोलीको पुरस्कार के ?
प्रतियोगिताको विजेताले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पाँच विधामा उत्कृष्ट हुने खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सवार्धिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।