एजेन्सी । अफगानिस्तानका स्टार बलर राशिद खानले २० बर्षको उमेरमै धेरै सफलता हात पारिसकेका छन् ।
विश्व क्रिकेटमा राशिदको बलिङ सधै चर्चा हुने गर्छ । राशिदको बलिङमा ब्याटिङ गर्न ठुला ब्याट्सम्यानहरुलाई हम्मे हम्मे पर्ने गर्छ ।
छोटो समयमा विश्व क्रिकेटमा राज गर्न सफल बलर राशिद आईसीसीको टी-ट्वान्टी बलरको शीर्ष र एकदिवसीयतर्फ दोस्रो स्थानमा छन् ।
राशिदको बलिङकै कारण विश्वका ठुला फ्रेन्चचाइज लिगको टिमले राशिदलाई टिममा अनुबन्ध गर्ने सपना बोकेको हुन्छ ।
तर, राशिदको सपना भने केहि फरक छ । राशिदले इएसपीएन क्रिकइन्फोको '२५ प्रश्न' कार्यक्रममा कुरा गर्दै आफुसंग धेरै सपनाहरू रहेको बताएका छन् ।
राशिदले आफ्ना धेरै सपना मध्ये पोर्चुगिज स्टार तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई भेट्नु रहेको बताएका छन् ।
यस्तै राशिदले भारतीय लेजेण्ड क्रिकेटर सचिन तेन्दुलकरलाई बलिङ गर्न चाहेको समेत बताए ।
राशिदले सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नु अघि नै सचिनले सन्यास लिईसकेका थिए । यस्तै राशिदले सन् २०१७ मा पहिलो पटक इन्डियन प्रिमिएर लिग (आइपीएल ) क्रिकेट खेलेका थिए । राशिदले आइपीएल खेल्नु अघि नै सचिनले क्लब क्रिकेटबाट पनि सन्यास घोषणा गरिसकेका थिए ।
विश्वकपमा भारत र पाकिस्तानबीचको खेल सधैं यादगार रहने समेत राशिदले बताए ।
राशिदले आफ्नो बारे फिल्म बनाए आमिर खानलाई आफ्नो भूमिका निर्वाह गराउने चाहाना रहेको र अनुष्का शर्माको प्रदर्शन प्रत्यक्ष हेर्ने चाहना रहेको समेत बताए ।
आफुले खेलेको अफगानी कप्तान मध्ये अस्गर स्टानिकजाइ सबै भन्दा उत्कृष्ट रहेको बताउदै राशिदले आफुलाई कागीसो राबाडा, मुजिब जाद्रान, जश्प्रित बुम्रा र भुवनेश्वर कुमार विश्वका उत्कृष्ट बलर लाग्ने बताए ।
राशिदले अफगानिस्तानका अलराउण्डरसंग उत्कृष्ट ब्याटिङ गर्ने क्षमता रहेको बताए । यस्तै उनले आफुलाई सबै भन्दा छिटो अर्धशतक बनाउने खेलाडी बन्न मन लागेको समेत बताए ।