एजेन्सी । घरेलु भूमिमा अष्ट्रेलियाले दुई खेलको टी-ट्वान्टी सिरिजमा कब्जा जमाएपछि भारतीय कप्तान विराट कोहलीले अष्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेलको प्रशंसा गरेका छन् ।
विस्फोटक ब्याट्सम्यान म्याक्सवेलले अविजित रहदै १ सय १३ रनको शतकीय इनिङ्स खेलेपछि बुधबार अष्ट्रेलियाले भारतलाई ७ विकेटले पराजित गरेको थियो । उक्त जितसंगै अष्ट्रेलियाले सिरिजमा २-० ले क्लिन स्विप गरेको थियो ।
अष्ट्रेलियासंगको सिरिज गुमाएपछि बोल्दै कप्तान कोहलीले म्याक्सवेलको उक्त प्रदर्शन अघि कसैको केहि नलाग्ने बताए ।
'अष्ट्रेलियाले दुवै खेलमा राम्रो प्रदर्शन गर्यो । उनीहरुले हामीलाई बल, ब्याट र फिल्डिङमा पनि हराए । हामीले राम्रो स्कोर बनाएका थियौं । १ सय ९० रन कुनै पनि मैदानमा राम्रो स्कोर हो,' कोहलीले भने, 'तर, जब म्याक्सवेलले यस तरिकाको इनिङ्स खेल्छन्, तपाई केहि गर्न सक्नुहुन्न ।'
टस हारेर पहिले ब्याटिङ गरेको भारतले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोहलीले अविजित ७२ रन बनाएका थिए । लोकेश राहुलले ४७ तथा महेन्द्र सिंह धोनीले ४० रन बनाएका थिए ।
जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १ सय ९१ रनको लक्ष्य १९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो । जसमा म्याक्सवेलले शतकीय इनिङ्स खेलेका थिए ।
यस अघि शनिबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ३ विकेटले हराएको थियो । योसंगै अष्ट्रेलियाले सन् २००८ पछि पहिलो पटक भारतीय भूमिमा टी-ट्वान्टी सिरिज जितेको थियो ।