काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) मा कराँची किंग्सलाई जितका लागि १३४ रनको लक्ष्य दिएको छ ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनायो ।
लाहोरका लागि एबी डी भिलियर्सले सर्वाधिक ३३ रन जोडे । यस्तै सोहिल अख्तरले अविजित २९ रन जोड्दा कोरी एन्डरसनले २२ रन बनाए ।
हरिस सोहिलले २० रन बनाउदा कप्तान फकर जमान १८ रनमा आउट भए ।
कराँचीका इफ्तिखर अहमेदले २ विकेट लिए ।
अहिले दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
लाहोर र कराँचीबीचको पछिल्लो पाँच खेलमा दुवै टिमले समान २ जित र समान २ हार व्यहोरेको छ । एक खेल भने बराबरीमा सकिएको थियो ।
लिगमा सन्दीपको टिम लाहोर ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । कराँची ६ खेलमा २ जितसहित ४ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।
लाहोर कराँचीविरुद्ध जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । कराँची पनि लाहोरलाई हराएर प्ले अफ सम्भावना जीवितै राख्न चाहन्छ ।