एजेन्सी । वेष्ट इण्डिजका ब्याटिङ स्टार क्रिस गेलले ग्रेनाडामा बुधबार खेलिएको सतकिय पाली करियरकै मनोरञ्जनात्मक ईनिङ्स रहेको बताएका छन् । चौथो एकदिवसीय खेलमा पाहुना टोली ईङ्ल्याण्डसंग २९ रनले पराजित भएपनि गेलले आफ्नो पाली करियरकै रमाईलो ईनिङ्स रहेको बताए ।
वेष्ट इण्डिजका बाँया हाते ब्याट्सम्यान गेलले ९७ बलमा विस्फोटक पाली खेल्दै १ सय ६२ रन बनाएका थिए । इंग्ल्यान्डले दिएको ४ सय १९ रनको ठुलो लक्ष्य पछ्याउने क्रममा गेलले १४ छक्का र ११ चौका प्रहार गरेका थिए ।
३९ बर्षे गेल एकदिवसीय खेलमा १० हजार रन पुरा गर्ने विश्वका १४ औं र वेष्ट इण्डिजका दोश्रो खेलाडी हुन् ।
आउँदो विश्वकप पछाडी एकदिवसीय खेलबाट सन्यास लिने घोषणा गरेका उनले जारी सिरिजमा दुई सतक प्रहार गरेका छन् । गेलले ३ इनिङ्स्मा ३ सय ४७ रन बनाएका छन् ।
'मलाई लाग्छ यो खेल जिवनकै उत्कृष्ट मनोरन्जनात्मक पाली बन्यो । यो क्रिकेटमा एक शानदार खेल थियो । धेरै टी–ट्वान्टी क्रिकेट खेलिरहेको हुन्छु, त्यसैले ५० ओभरको क्रिकेटमा फर्किन कठिन हुँदो रहेछ ।’ गेलले खेलपछि पत्रकारसंग भने ।
उनले थपे, ‘५० ओभर खेल्दा जिउ निकै थाक्छ, त्यसैले शरिरमा धेरै ध्यान दिनु पर्ने छ । त्यसपछि तपाईले अझ अर्को क्रिस गेल पाउनु हुनेछ । चिजहरु चाँंडै परिवर्तन हुन्छन् । आशा छ, शरीरमा पनि २/३ महिनामा परिवर्तन आउनेछ अनि हेर्नेछौं के हुन्छ भनेर ।’
शरीरले साथ दिएमा उनले विश्वकप पछाडी समेत खेल जिवन लम्ब्याउन सक्ने संकेत गरेका छन् ।
‘१० हजार रन पुरा गर्दा खुसी महशुश हुन्छ । टी–ट्वान्टीमा पनि मैले यो सफलता हात पारेका छु । सबै दृष्टिकोणले हेर्दा रमाईलो लाग्छ । झन् वेष्ट इण्डिजको लागि सफलता हात पर्दा खुसीको सीमा रहदैन ।’ उनले भने, ‘म झन्डै ४० लागि सके । तर मेरो सन्यास फिर्ता पनि हुनसक्छ । यसलाई म हल्कानै लिन्छु ।’
चौथो एकदिवसीय खेलमा पराजित भएपछि ५ खेलको एकदिवसीय सिरिजमा वेष्ट इण्डिज २–१ ले पछाडी परेको छ । सिरिज बराबरी गर्न घरेलु टोलीले आइतबार हुने खेल जित्नैपर्ने दबाब छ ।