काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्सलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन टेक बहादुर बुढाथोकीले निर्णायक गोल गरे । खेलको १३ औं मिनेटमा टेकले दिपक गुरुङको पासमा हेड गोल गर्दै आर्मीलाई जित दिलाए ।
आर्मीसंगको हारसंगै नेपालमा दाउफिन्सको दबदबा रोकिएको छ । पछिल्लो समय तीन उपाधि हात पारिसकेको दाउफिन्स आहा रारामा भने सेमिफाइनलमा चुक्न पुग्यो ।
अब आर्मीले उपाधिका लागि थ्री स्टारको सामना गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पाँच विधामा उत्कृष्ट हुने खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सवार्धिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।