काठमाडौं । थाईल्याण्डमा सम्पन्न आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बिहिबार अपरान्ह स्वदेश फर्किएका हुन् ।
बैंककमा बुधबार सम्पन्न छनोटमा उपविजेता बनेपनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । ७ राष्ट्र रहेको छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो । यस्तोमा आयोजक शीर्ष स्थानमा रहदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो ।
छनोटमा नेपाल थाइल्याण्डसंग नै पराजित भएको थियो । नेपाल थाइल्याण्डसंग ५८ रनले पराजित भएको थियो । अन्य टोलीलाई भने नेपालले हराएको थियो ।
नेपालले ६ खेलबाट १० अंक जोडेको थियो । र, नेपाल दोस्रो स्थानमा रहेको छ । थाइल्याण्ड १२ अंक जोडेर शीर्ष स्थानमा रहदा युएई ८ अंक जोडेर तेस्रो स्थानमा रहेको थियो ।