एजेन्सी । क्रिकेटमा छोटो समयमा ठुलो प्रगति गर्ने राष्ट्र हो अफगानिस्तान । अफगानिस्तानका बलरहरुले त्यसलाई उचाई थप्ने काम गरेका छन् ।
अफगानिस्तानका बलरहरुमा जति क्षमता छ त्यति नै क्षमता ब्याट्सम्यानहरुमा समेत रहेको छ । तर, विश्वको फेन्चाइज लिगहरुले अफगानी ब्याट्सम्यानहरुलाई खासै पत्याएका छैनन् ।
यहिँ समय २० बर्षे अफगानी ब्याट्सम्यान हजरतउल्ला जाजाईले सबैलाई सोच्न बाध्य बनाएको छ ।
निकै आक्रामक ब्याटिङ गर्ने जाजाईले देहरादुनमा सकिएको आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजमा अविजित १ सय ६२ रन बनाए । उक्त स्कोरसंगै जाजाई टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा व्यक्तिगत सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बनेका छन् । उनीभन्दा अघि १ सय ७२ रन बनाएका अष्ट्रेलियाका एरोन फिन्च रहेका छन् ।
सन् २०१६ मा डेब्यु गरेका जाजाईले २ एकदिवसीय र ६ टी-ट्वान्टी मात्र खेलेका छन् । तर, आयरल्याण्डविरुद्धको खेलपछि जाजाईले अफगानी ब्याट्सम्यानलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिए ।
टी-ट्वान्टीका किफायती बलर तथा टिममेट राशिद खानले जाजाईलाई 'अफगानिस्तानका क्रिस गेल' भनेर वेष्ट इण्डिजका क्रिस गेलसंग परिचय गराएका थिए । राशिदले जाजाई गेलको ठुलो प्रशंसक रहेको समेत बताएका थिए ।
'उ हजरत, तपाईको ठुलो प्रशंसक र हाम्रो देशमा उसलाई अफगानिस्तानका क्रिस गेल भनेर चिन्छन्,' युनिभर्सल बोसको नामले चिनिने गेलसंग परिचय गराउदै राशिदले भनेका थिए ।
जाजाईले गत बर्ष सारजाहमा भएको अफगानिस्तान प्रिमिएर लिगमा बाल्ख लिजेण्ड्सविरुद्धको खेलमा एक ओभरमै ६ छक्का प्रहार गर्दै पत्र पत्रिकामा छाएका थिए ।
जाजाईले आफ्नो आइडल मान्ने गेलले टी-ट्वान्टीमा बनाएका १२ बलको अर्धशतकको कीर्तिमानीमा समेत बराबरी गरेका थिए ।
जाजाई किशोर अवस्थाबाटै आक्रामक क्रिकेट खेल्ने गर्थे । तर, जाजाईलाई क्रिकेटको लत भने पाँच बर्ष अघिबाट मात्र लागेको थियो ।
सुरुवातमा टेनिस बलले क्रिकेट खेल्ने जाजाईले बिस्तारै क्रिकेट बलले खेल्न थाले । टेनिस बलबाट क्रिकेट बलमा समायोजन हुन जाजाईलाई लामो समय लागेन ।
सन् २०१० को टी-ट्वान्टी विश्वकपमा अफगानिस्तानले खेलेको हेर्दा जाजाईले पनि एक दिन देशको लागि खेल्ने आठोट गरेका थिए । र, अहिले त्यो दिन पुरा भएको छ । र, जाजाई टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाउने दोस्रो खेलाडी बने ।
१९ बर्षको उमेर नपुग्दै जाजाईले हप्तामा ३ देखि ४ टी-ट्वान्टी खेल खेल्ने गर्थे । तर, बगर र सिमेन्टले बनाईएको पिचमा खेल्ने गर्थे । यू-१९ टोलीमा छनोट हुँदासम्म जाजाईले प्रशिक्षक, एकेडमी र घासे मैदान समेत देख्न पाएका थिएनन् ।
'क्लब रहदा हामीसंग प्रशिक्षक थिएनन । म टि भी र भिडियो हेर्दै सिक्ने प्रयास गर्थे । हामी खेल मात्र खेल्न आतुर थियौं,' जाजाईले ईएसपीएनक्रिकइन्फोसंग भनेका छन् ।
जाजाई दिनमा क्रिकेट खेल्ने गर्थे भने रातमा मोबाइल सर्भिस टावरमा चौकीदारको काम गर्थे ।
उनले मासिक १० हजार तलब पाउँथे । जसमध्ये ३ देखि ४ सय रुपैया आफु खेल्ने क्लब सुलाहका लागि खर्च गर्थे ।
जहाँ क्रिकेट खेलर पैसा पाउदैन थिए । खेल जितेपछि पनि कुनै पुरस्कार पाउदैन थिए । तर, जाजाई क्रिकेट प्रतिको मायाले खेल्ने गर्थे ।
एजेन्सीको सहयोगमा