काठमाडौं । पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) विभागीय टिम त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाउफिन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टिम जित निकाल्दै फाइनल प्रवेश गर्न चाहन्छ ।
आर्मी र दाउफिन्सबीचको विजेताले फाइनलमा थ्री स्टारको सामना गर्नेछ ।
'ए' डिभिजन क्लब आर्मी नेपालमा दाउफिन्सको दबदबा रोक्ने दाउमा हुनेछ । पछिल्लो समय दाउफिन्सले नेपालमा तीन उपाधि हात पारिसकेको छ । त्यसैले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
यसअघि बाई पाएर सिधै क्वाटरफाइनल खेलेको दाउफिन्सले विभागीय नेपाल पुलिसलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो ।
यता, आर्मीले नवयुग श्रेष्ठको दुई गोल मद्धतमा हिमालयन शेर्पालाई ३–१ गोलले हराएको थियो ।
आर्मी र दाउफिन्स को बलियो ?
आर्मीले यस सिजन मोफसलको दुई उपाधि हात पारिसकेको छ । उसले विशाल मेमोरियल र मदन भण्डारी गोल्डकपको उपाधि हात पारेको हो । यस्तै सिमरा गोल्डकप र फिदिम गोल्डकपमा उपविजेता बन्यो ।
दाउफिन्सले मनकामना केबलकार पोखरा कप, बुढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकप गरि तीन उपाधि चुमेको छ ।
विजेताको रकम कति ?
प्रतियोगिताको विजेताले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पाँच विधामा उत्कृष्ट हुने खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सवार्धिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।