एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो ।
लुइस स्वारेजले दुई गोल गरेपछि एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई उसैको मैदानमा हराएको हो । रियलका राफायल भरानेले आत्मघाती गोल गरे ।
दोस्रो लेगको जितसंगै समग्रमा ४-१ को जितसहित बार्सिलोना उपाधि नजिक पुग्यो । दुई बीचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा भरानेले आत्मघाती गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो । त्यसपछि खेलको ७३ औं मिनेटमा स्वारेजले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल पुरा गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए ।
अब बार्सिलोनाले उपाधिका लागि भ्यालेन्सिया र रियल बेटिसबीचको विजेतासंग खेल्नेछ ।