काठमाडौं । विमान दुर्घटनामा निधन भएका कार्डिफ सिटीका फरवार्ड इमिलियानो सालाको सरुवाको रकमबारे फिफाले अनुसन्धान गर्ने भएको छ ।
अर्जेन्टिनाका स्ट्राइकर साला फ्रेन्च क्लब नान्टेसबाट प्रिमियर लिग क्लब कार्डिफ सिटीमा महँगो मुल्यमा सरुवा भएका थिए । कार्डिफले सालालाई १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
तर, कार्डिफतर्फ जाँदै गर्दा गत जनवरी २१ मा प्लेन दुर्घटना परेर सालाको निधन भएको थियो । साला चढेको विमान समुन्द्रमुनि दुर्घटना ग्रस्त अवस्थामा च्यानल आइसल्याण्डमा दुई सातापछि भेटिएको थियो ।
सालाको निधन भएपछि नान्टेसले उनले पाउने रकम पाउनु पर्ने दाबी गर्दै आएको छ । बुधबार मात्र कार्डिफले पहिलो किस्ताको रकम बुझाएको थियो ।
सालाको अनुबन्धमा कार्डिफ र नान्टेसबीच अन्तराष्ट्रिय ट्रान्सफर सर्टिफिकेट अनुसार नै भएको कारण फिफाले अनुसन्धान गर्नु पर्ने आवश्यकता रहने जनाएको छ ।