काठमाडौं । लाहोर क्वालेण्डर्सबाट पाकिस्तान सुपर लिग (पीएसएल) खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्वेटा ग्लाडियटर्सविरुद्धको खेलमा प्लेयर अफ दि म्याच बनेका छन् ।
दुबईमा क्वेटाविरुद्धको खेलमा घातक बलिङ गर्दै लाहोरलाई जित दिलाएपछि सन्दीप प्लेयर अफ दि म्याच बनेका हुन् । सन्दीप पहिलो पटक पीएसएलमा प्लेयर अफ दि म्याच बनेका हुन् ।
क्वेटाविरुद्ध सन्दीपले आफ्नो पुरै स्पेल ४ ओभर बलिङ गर्दै मात्र १० रन खर्चिएर ४ विकेट लिन सफल भए । सन्दीपले १५ डट बल खेलेका थिए । सन्दीपको यो करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।
उक्त खेलमा सन्दीपको टिम लाहोरले क्वेटालाई ८ विकेटले पराजित गरेको हो ।
क्वेटाविरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दीपले आफ्नो दोस्रो ओभरमा २ र पहिलो र तेस्रो ओभरमा समान १/१ विकेट हात पारे ।
सन्दीपले पहिलो ओभरमै क्वेटाका सेन वाट्सनलाई एल्बीडब्ल्युको शिकार बनाएका थिए । वाट्सनलाई सन्दीपले पहिलो ओभरको चौथो बलमा ७ रनमा आउट गरे ।
यस्तै दोस्रो ओभरको पहिलो बलमा सन्दीपले राईली रस्सोलाई ८ रनमा क्याच आउट गराए । दोस्रो ओभरको अन्तिम बलमा सन्दीपले तेस्रो विकेटको रुपमा सन्दीपले उमार अकमललाई १ रनमा बोल्ड आउट गरे ।
सन्दीपले आफ्नो व्यक्तिगत तेस्रो ओभरमा चौथो विकेटको रुपमा ड्यानिस अजिजलाई १ रनमा क्याच आउट गराए ।
चौथो ओभरमा सन्दीपले २ रन खर्चिए ।
सन्दीपले हालसम्म पीएसएलको ३ खेलमा ८ विकेट हात पारिसकेका छन् । अघिल्ला दुई खेलमा उनले ४ विकेट लिएका थिए ।