काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा क्वेटा ग्लाडियटर्सलाई पराजित गरेको छ । दुबईमा बुधबार भएको खेलमा सन्दीपको टिम लाहोरले शीर्ष स्थानको क्वेटालाई ८ विकेटले हराएको हो ।
क्वेटाले दिएको १०७ रनको लक्ष्य लाहोरले १६ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । लाहोरको जितमा एबी डी भिलियर्सले अविजित रहदै सर्वाधिक ४७ रन जोडे । यस्तै हरिस सोहिलले अविजित ३३ रन बनाए ।
लाहोरका कप्तान फकर जमान २ रनमा आउट हुँदा गौहर अलीले २१ रन बनाए । क्वेटाका मोहमद हस्नैन र ह्यारी गुर्नेले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्वेटाले १९ ओभर १ बलमा अलआउट हुँदै १०६ रन बनाएको थियो । क्वेटाका लागि हसन अलीले ३३ रन जोड्दा कप्तान सर्फ्राज अहमेदले २९ रन जोडे । महमद नवाजले १२ रन बनाए ।
क्वेटालाई सस्तैमा समेट्न नेपालका बलर सन्दीप नायक बने । सन्दीपले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चिएर ४ विकेट लिन सफल भए । यस्तै हरिस राउफले २ विकेट हात पारे ।
जितसंगै ६ खेलबाट लाहोरले ६ अंक जोडेको छ । र, लाहोर चौथो स्थानमा उक्लिएको छ ।
६ खेलमा ४ जितसहित क्वेटा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।