काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा क्वेटा ग्लाडियटर्सले नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्सलाई जितका लागि १०७ रनको लक्ष्य दिएको छ ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको क्वेटाले १९ ओभर १ बलमा अलआउट हुँदै १०६ रन बनाउन सक्यो । क्वेटाका लागि हसन अलीले ३३ रन जोड्दा कप्तान सर्फ्राज अहमेदले २९ रन जोडे । महमद नवाजले १२ रन बनाए ।
क्वेटालाई सस्तैमा समेट्न सन्दीपले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चिएर ४ विकेट लिन सफल भए । यस्तै हरिस राउफले २ विकेट हात पारे ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पछिल्ला पाँच खेलमा क्वेटा लाहोरविरुद्ध हाबी देखिएको छ । पाँच खेलमा लाहोरले क्वेटालाई हराउन सकेको छैन । जसको कारण बुधबार लाहोरलाई जित निकाल्न निकै मेहनत गर्नु पर्ने देखिन्छ ।
पाँच खेलमा ४ जितसहित क्वेटा लिगको शीर्ष स्थानमा रहेको छ । पाँच खेलमा २ जित निकाल्न सफल लाहोर अंक तालिकाको चौथो स्थानमा रहेको छ ।