काठमाडौं । रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालामा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा थ्री स्टारले बाजी मार्यो ।
थ्री स्टारको जितमा रन्जित धिमाल, सुनिल बल, रुपेश केसी र अनन्त तामाङले पेनाल्टीमा गोल गरे । एपीएफका परिवर्तित गोलरक्षक रोमन रसाईले थ्रीस्टारका बुद्ध लिम्बुको प्रहार रोकेका थिए ।
यता,एपीएफका सुदिप सिख्राकारको पेनाल्टी क्रसबारमा लागेर बाहिरिएको थियो । यस्तै बिक्कि लामाको प्रहारले पोष्टको दिशा लिन सकेन । पेनाल्टीमा एपीएफका आशिष लामा र सन्तोष कटवालले गोल गरेका थिए ।
प्रतियोगितामा बाई पाएर क्वाटरफाइनल खेलेको थ्री स्टारले अनिल गुरुङको ह्याट्रिक मद्धतमा सिक्किम युनाईटेडलाई ५–२ ले हराएको थियो । एपीएफले क्वाटरफाइनलमा लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गरेको थियो ।
थ्री स्टारको प्रतिद्वन्दी को ?
अब थ्री स्टारले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र क्यामरुनी क्लब दाउफिन्सको विजेतासंग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइलमा आर्मी र दाउफिन्सबीच बिहिबार प्रतिस्पर्धा हुनेछ ।
थ्री स्टार सिमरा गोल्डकपको विजेता तथा खप्तड गोल्डकपको उपविजेता टिम हो । एपीएफ मनकामना केबलकार पोखरा कपको उपविजेता टोली हो ।
विजेताले के पाउछ ?
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।