काठमाडौं । दुई दिने औपचारिक भ्रमणका लागि चाईनिज फुटबल संघका अध्यक्ष चाई झिन्हुआ भोली (बिहिबार) नेपाल आउदैछन् । चीन र नेपालबीचको फुटबलको क्षेत्रमा गर्न सक्ने सहकार्यका बिषयमा छलफल गर्न चीनियाँ फुटबल संघका अध्यक्ष झिन्हुआ नेपाल आउन लागेका हुन् ।
उनी भोली दिउँसो एक बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुग्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
दुई दिने नेपाल भ्रमणमा रहेको बेला चीनियाँ खेलकुद मन्त्रालयका सह–मन्त्री समेत रहेका झिन्हुआले फुटबलका क्षेत्रमा गर्न सक्ने सहकार्यका बिषयमा एन्फासंग औपचारिक सम्झौता समेत गर्नेछन् । सम्झौताको प्रारम्भिक खाकाको बिषयमा दुवै देशका फुटबल संघ अनौपचारिक छलफलमा जुटेका छन् ।
एन्फाले चीनियाँ फुटबल संघसंग पुर्वाधारको क्षेत्रमा सहयोगको अपेक्षा गरेको छ । भेटका क्रममा चीनियाँ पक्षसंग फुटबलको पुर्वाधार क्षेत्रमा प्राप्त गर्न सकिने सहयोगको बिषयमा कुराकानी गरिने एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलपाटीलाई बताए ।
‘दुई देशबीच मैत्रिपुर्ण फुटबल खेल खेलाउने लगायतका बिषय छलफल हुनेछ । तर हाम्रो मुख्य जोड फुटबलको पुर्वाधार निर्माणमा प्राप्त गर्न सकिने सहयोगमा बिषयमा केन्द्रित रहनेछ ।’ उनले भने ।
चीन र नेपालबीच फुटबल सम्बन्ध पुरानो भएपनि पारस्पारिक हितका बिषयमा सहकार्य अघि बढ्न सकेको छैन ।
‘उहाँको भ्रमणले दुई देशबीचको सम्बन्धको पुर्नताजकी प्रदान गर्ने अपेक्षा गरेका छौ ।’ एन्फाका महासचिव ईन्द्रमान तुलाधरले भने ।
चीनियाँ खेलकुद मन्त्रालयका सह–महामन्त्री समेत रहेका झिन्हुआले फिफाको आसन्न काउन्सिल सदस्यको निर्वाचनमा उ्रम्मेद्वारी दिएका छन् । उनको भ्रमणलाई फिफाको आसन्न निर्वाचनलाई समेत जोडेर हेरिएको छ ।