काठमाडौं । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालकी कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिएकी छिन् ।
बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा कुवेतविरुद्ध जित निकालेको खेलमा कप्तान रुबिनाले ह्याट्रिक विकेट लिएकी हुन् ।
नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको कुवेतविरुद्ध रुबिनाले अन्तिम ओभरको चौथो, पाँचौ र छैटौं बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरिन ।
रुबिनाको ह्याट्रिक कस्तो रह्यो ?
कुवेतलाई अन्तिम ओभरमा ३५ रन चाहिएको अवस्थामा बलिङ गर्न आएकी रुबिनाले पहिलो ३ बलमा एक वाईड सहित चार रन खर्चेकी थिइन् । त्यसपछिको बलमा भने रुबिनाले लगातार विकेट लिईन् ।
अन्तिम ओभरको चौथो बलमा खादिजा खालीललाई बोल्ड गर्दै रुबिनाले आफ्नो पहिलो तथा नेपालको लागि सातौं विकेट झारिन । पाँचौ बलमा रुबिनाले मदिहा जुबेरीलाई पनि बोल्ड गर्न सफल भईन् । त्यसपछि छैटौं बलमा जिफा जिलानीलाई बोल्ड गर्दै रुबिनाले ह्याट्रिक पुरा गरिन् ।
प्रतियोगितामा रुबिनाले ६ खेलमा १३ ओभर बलिङ गर्दै ४ विकेट हात पारेकी छिन् । नेपालकी नेरी थापा ६ खेलमा २२.३ ओभर बलिङ गर्दै १३ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेकी छिन् ।
अन्तराष्ट्रिय महिला क्रिकेटमा नेपालको लागि पहिलो ह्याट्रिक गर्ने खेलाडी पनि रुबिना नै हुन् । उनले सन् २०१२ मा सिंगापुरविरुद्ध रुबिनाले ह्याट्रिक गरेकी थिइन् ।
एसीसी महिला टी-ट्वान्टी क्रिकेट दौरान सिंगापुरलाई अन्तिम ओभरमा २ रन चाहिएको बेला रुबिनाले ५ बलमा ५ विकेट निकाल्दै नेपाललाई जित दिलाएकी थिइन् ।