काठमाडौं । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले अहिले कुवेतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित कुवेतले जवाफी ब्याटिङ गरिरहेको छ । र, उत्कृष्ट सुरुवात गरिरहेको कुवेतले नेपहिलो विकेट गुमाएको छ ।
कुवेतले पहिलो विकेटको रुपमा सब्रिन जाकीलाई १२ रनमा गुमाएको हो । उनलाई नेरी थापाले आउट गरिन् ।
कुवेतले ११ ओभरको खेल सकिदा १ विकेट गुमाएर ४४ रन जोडेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाएको थियो ।
खराब सुरुवात गरेको नेपालको लागि बिन्दु रावलले अविजित रहदै सर्वाधिक २८ रनको योगदान दिईन् । ४८ रन जोड्दा ५ विकेट गुमाईसकेको नेपालको सम्मान जनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १३ बलमा ३ चौकासहित २२ रन बनाईन् ।
यस्तै नेरी थापाले १९, काजल श्रेष्ठले १८ रन जोड्दा इन्दु बर्मा र रोमा थापाले समान ७/७ रन बनाईन् । नेपालकी ओपनर सिता राना मगर र सरिता मगर सुन्य रनमा पेभेलियन फर्किए ।
कुवेतका मर्याम ओमर र प्रियादा मुरालीले समान २/२ विकेट लिईन् ।
विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपालका लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । सात राष्ट्र सम्मिलित छनोटमा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।