काठमाडौं । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले अहिले कुवेतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले कुवेतलाई जितका लागि ११७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनायो ।
खराब सुरुवात गरेको नेपालको लागि बिन्दु रावलले अविजित रहदै सर्वाधिक २८ रनको योगदान दिईन् । ४८ रन जोड्दा ५ विकेट गुमाईसकेको नेपालको सम्मान जनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १३ बलमा ३ चौकासहित २२ रन बनाईन् ।
यस्तै नेरी थापाले १९, काजल श्रेष्ठले १८ रन जोड्दा इन्दु बर्मा र रोमा थापाले समान ७/७ रन बनाईन् । नेपालकी ओपनर सिता राना मगर र सरिता मगर सुन्य रनमा पेभेलियन फर्किए ।
कुवेतका मर्याम ओमर र प्रियादा मुरालीले समान २/२ विकेट लिईन् ।
ग्लोबल छनोटमा पुग्न नेपाललाई के आवश्यकता ?
विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपालका लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । सात राष्ट्र सम्मिलित छनोटमा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
यस्तोमा नेपालसहित आयोजक थाइल्याण्ड र युएईसहित तीन टोलीले ग्लोबल छनोटका लागि दाबी पेश गरिरहेका छन् ।
पाँच खेल खेलेको नेपाल चार जितसहित ८ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । पाँच खेलमा हार व्यहोर्दै अंकविहीन रहदै पुछारमा रहेको कुवेत बाहिरिसकेको छ ।
विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपाललाई अन्तिम खेल जित्नै पर्ने बाध्यता छ । त्यति मात्र हैन नेपाललाई अन्य टिमको नतिजा समेत आफु अनुकुल आउनु पर्ने हुन्छ ।
पाँच खेलमा शत प्रतिशत जितसहित १० अंक जोडेको थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ । पाँच खेलमा चार जित निकाल्दै युएई अंक तालिकाको दोस्रो स्थानमा छ।
नेपालसंग समान खेल र समान जितसहित समान अंक भएपनि युएई राम्रो नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेका छन् ।
त्यसैले नेपाललाई ग्लोबल छनोटमा पुग्न कुवेतमाथि फराकिलो जितले मात्र पुग्ने छैन । नेपालको लागि थाइल्याण्ड र युएईको खेल पनि महत्वपूर्ण हुनेछ ।
अन्तिम खेलमा थाइल्याण्डले युएईसंग प्रतिस्पर्धा गर्दैछ । युएईविरुद्धको खेल थाइल्याण्डले जितेमा आयोजक ग्लोबल छनोटमा पुग्नेछ । थाइल्याण्ड पराजित भएमा नेपाल र यूएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् । तर, युएईले जितेको खण्डमा नेपाललाई नेट रन रेटले पिरोल्ने छ ।
त्यसैले नेपाललाई कुवेतविरुद्धको खेलमा फराकिलो जितको आवश्यकता रहेको छ ।