काठमाडौं । शानदार जित सहित एन्फाको युवा फुटबल टोलीले भारतमा भएको डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ । एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको एन्फाको युथ टिमले समुह चरणको अन्तिम खेलमा नागाल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
एलएनआईपीई रंगशालामा सोमबार भएको खेलमा नेपाली टिमको जितमा रेजिन सुब्बा र अभिषेक रिजालले समान २÷२ गोल गरे । नागाल्याण्डले एक गोल फर्कायो ।
खेलको दोस्रो मिनेटमा रेजिन सुब्बाले गोल गर्दै एन्फाको टिमलाई अग्रता दिलाएका थिए । तर नागाल्याण्डका मिलु मिडीले १५ औ मिनेटमा खेल बराबरीमा ल्याए ।
अभिषेक रिजालले २९ औ मिनेटमा गोल गर्दै नेपाली टिमलाई पुन अग्रता दिलाए । रेजिनले ६३ औ मिनेटमा टोलीको अग्रतालाई ३–० मा पु¥याएका थिए । ७४ औ मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई ४–१ को जित दिलाए ।
खेलको ७७ औ मिनेटमा नेपालका राजन गुरुङ र नागाल्याण्डका मुजीबुक नाम्समले रातो कार्ड खादै मैदान बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सिमित बनेका थिए । मैदानमा दुवै खेलाडी हातपातमा उत्रिएपछि रेफ्रीले दुवै खेलाडीलाई मैदान बाहिर पठाएका थिए । एन्फा युथ टिमका अभिषेक म्यान अफ दी म्याच घोषित भए ।
आईतबार भएको खेलमा नेपाली टिम भारतको मिजोरानसंग २–० ले पराजित भएको थियो ।
एन्फाको युथ टिम पहिलो खेलमा मेघालयसंग ३–२ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा त्रिपुरा क्लबलाई ६–० गोल अन्तरले पराजित गरेको युथ टिमले मनिपुरलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।