काठमाडौं । क्यामरुनको दाउफिन्स फेमली फुटबल क्लबले २१ औं संकरणको तिलोत्तमा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
सोमबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै दाउफिन्सले उपाधि उचालेको हो ।
रुपन्देहीको एन्फा टेक्निकल सेन्टरमा निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । तर,पेनाल्टी सुटआउटमा खेल ५–५ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।
सडन डेथमा पुलिसका तेज तामाङले गोल गर्न सकेनन् । दाउफिन्सका मियाले गोल गर्दै टोलीलाई उपाधि दिलाउन सफल भए ।
त्यसअघि पेनाल्टीमा दाउफिन्सका जोए गोला, वेरेङ्गा, एकेवइन, प्रिसो, यात्रिकले गोल गरे । पुलिसको लागि अजित भण्डारी, भरत शाह, रवि पासवान, तिर्थराना र सुमन लामाले पेनाल्टीमा गोल गरेका थिए ।
उपाधिसंगै दाउफिन्सले ८ लाख ८० हजार नगद पुरस्कार पाएको छ । उपविजेता बनेको पुलिसले ५ लाख ५० हजार प्राप्त गर्यो ।