काठमाडौं । प्रविधिको सहायताले खेलिने भिडियो गेम 'नेपाल फिफा-१९ च्याम्पियनसिप' बिहिबारबाट सुरु हुने भएको छ ।
आयोजक गेमिङ ग्यारेज नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १६ देखि १९ सम्म आयोजना हुने जनाएको छ ।
प्ले स्टेसनबाट खेलिने प्रतियोगितामा करिब ५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकका दिपन्कर डंगोलले जानकारी दिए । जसमा २७ खेलाडी काठमाडौं बाहिरबाट आउने डंगोलले बताए ।
ब्रिटिस कलेजको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सिभिल मलमा आयोजना हुने हुनेछ । प्रतियोगितामा सहभागी हुन २५० रुपैया दर्ता शुल्क लाग्ने छ ।
नकआउटका आधारमा खेलिने प्रतियोगिता ६/६ गरि १२ मिनेटको हुनेछ ।
विजेताले १ लाख ५० हजार पुरस्कार पाउने छन् । उपविजेताले ७५ हजार,तेस्रोले ३० हजार र चौथोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पुग्ने टोलीले ५ हजार र प्रिक्वाटरफाईनलमा पुग्नेले २ हजार पुरस्कार पाउनेछन् ।