काठमाडौं । राष्ट्रिय टिमका पुर्व स्ट्राइकर अनिल गुरुङले ह्याट्रिक गरेपछि रुस्लान थ्री स्टार क्लब १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अनिल प्रेरित थ्री स्टारले सोमबार भएको क्वाटरफाइनलमा सिक्किम युनाइटेडलाई ५–२ गोल अन्तरले पराजित गर्याे ।
पोखरा रंगशालामा पहिलो हाफमा एक गोल गरेको थ्री स्टारले दोस्रो हाफमा चार गोल थप्यो । उसको जितमा पोखरेली स्ट्राइकर अनिलले ह्याट्रिक गरे । यस्तै विदेशी खेलाडी अजयी मार्टिनले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पायो ।
खेलको २६ औं मिनेटमा सुशील राईलाई फल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै अनिलले सुरुवाती अग्रता बनाए । खेलको ७० औं मिनेटमा मार्टिनले गोल गर्दै थ्री स्टारको अग्रता २-० को बनाए । सिक्किम युनाइटेडका डिफेन्डर र गोलरक्षकबीच तालमेल नमिल्दा मार्टिनले बल खोस्दै गोल गरे ।
खेलको ५१ मिनेटमा सिक्किमले आत्मघाती गोल गरेपछि थ्री स्टार ३-० ले अघि रह्यो । ८१ औं मिनेटमा अनिलले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दा थ्री स्टारले ४-० को अग्रता बनायो । डिबक्सभित्र अनिललाई सिक्किमका खेलाडीले फल गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।
यस्तै खेलको ८५ औं मिनेटमा डिबक्स नजिकैबाट गोल गर्दै अनिलले गृह नगरमा ह्याट्रिक पुरा गरे । योसंगै प्रतियोगितामा अनिल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।
त्यसपछि खेलको अन्तिम मिनेटमा सिक्किमले दुइ गोल फर्कायाे । उसका साेनम छिरिङ भुटियाले खेलकेा ८९ मिनेटमा गाेल गरे । यस्तै अतिरत्त समयमा उपहार स्वरुप एक गाेल पायाे । थ्री स्टारका छिरिङ लाेप्चाङले अात्मघाति गाेल गरेका हुन् ।
भुटानमा जिग्मे दोर्जी बाङचुक स्मृति कपको उपविजेता भएको थ्री स्टार आहा राराको लागि सिधै पोखरा पुगको हो ।
यसअघिको खेलमा विजयी हुँदै विभागीय एपीएफ र त्रिभुवन आर्मी क्लब सेमिफाइनल पुगिसकेका छन् ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै व्यक्तिगत विधागततर्फ उत्कृष्ट पाँच खेलाडीले १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।