काठमाडौं । बुटवलमा जारी २१ औं संकरणको तिलोत्तमा गोल्डकप फुटबलको उपाधिका लागि अहिले विभागीय टिम नेपाल पुलिस क्लब र क्यामरुनको दाउफिन्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
रुपन्देहीको एन्फा एकेडेमीमा जारी खेलको पहिलो हाफको खेल सकिदाँ पुलिस र दाउफिन्सले गोलरहित बराबरी खेलिरेहेका छन् ।
दुवै क्लब फाइनल जित्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । तर, पहिलो हाफमा दुवै टिमले गोल गर्ने केहि अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।
दाउफिन्सका केहि राम्रो आक्रमणहरु पुलिसका गोलरक्षक सत्रुधन चौधरीले उत्कृष्ट बचाऊ गरे । पछिल्लो समय मोफसलका प्रतियोगिता खेल्न नेपाल आएको दाउफिन्सले मोफसलको फुटबलमा प्रभाव जमाएको छ ।
मोफसलमा दाउफिन्सको दबदबा रोक्ने विभागीय टिम पुलिसलाई अवसर समेत छ । दाउफिन्सले मनकामना केवलकार पोखरा कप र बुढासुब्बा गोल्डकपको उपाधि उचालेको थियो । यता पुलिस भने मोफसलको सर्वा्धिक पुरस्कार राशी खप्तड गोल्डकपको विजेता हो । पुलिस पहिलो पटक तिलोत्तमा गोल्डकपको फाईनल पुगेको हो ।
तिलोत्तमा गोल्डकपमा वाई पाएर सिधै क्वार्टरफाईनल पुगेको पुलिसले पहिलो खेलमा ब्रदर्श युनाइटेडलाई पराजित गरेका थियो । सेमिफाइनलमा च्यासल युथ क्लबको चुनौती पन्छाएको थियो । दाउफिन्सले भने झापा र आयोजक रुपन्देहीलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।