काठमाडौं । पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा अहिले रुस्लान थ्री स्टार र सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले १–० को अग्रता बनाएको छ । थ्री स्टारको लागि अनिल गुरुङले गोल गरे । उनले खेलको २६ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । सुशील राईलाई युनाइटेड सिक्किमका खेलाडीले डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा अनिलले सदुपयोग गरेका हुन् ।
आज दुवै टोली सहज जित निकाल्दै सेमिफाईनल यात्रा तय गर्न चाहन्छन् । भुटानमा जिग्मे दोर्जी बाङचुक स्मृति कपको उपविजेता टोली थ्री स्टार लगत्तै पोखरामा उत्रन लागेको हो ।
प्रतियोगितामा दुवै क्लबले बाई पाएर क्वार्टरफाईनल खेल्न लागेका हुन् । यसअघिको खेलमा विजयी हुँदै विभागीय एपीएफ र त्रिभुवन आर्मी क्लब सेमिफाईनल पुगिसकेका छन् ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।