काठमाडौं । दक्षिण अफ्रीका भ्रमणका लागि १९ बर्ष मुनिका खेलाडी सम्मलित टिम 'डीपीएल इमर्जिङ स्टार्स' को घोषणा भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडमीले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने १९ बर्ष मुनिका खेलाडीलाई समेटेर १५ सदस्सीय 'डीपीएल इमर्जिङ स्टार्स' को घोषणा गरेको हो ।
डीपीएल इमर्जिङ स्टार्सको टोलीमा रोहित कुमार पौडेल, पवन सर्राफ, सन्दीप जोरा, रित गौतम,भीम सार्की,कुशल मल्ल,तृत राज दास र सुवास ऐर रहेका छन् । यस्तै सुशिल खड्का, कमल सिंह ऐरी,रशिद खान, अदिल अन्सारी, दिपेन्द्र रावत, कृष्ण ऐर र खगेन्द्र जैसी रहेका छन् ।
आयोजकले स्पोर्ट्स एडसंगको सहकार्यमा छनोट गरिएको १५ सदसीय टोलीले दक्षिण अफ्रीकामा बिशेष प्रशिक्षण गर्न पाउनेछन् ।
डीपीएल इमर्जिङ स्टार्सले दशैँपछि दुई साताको लागि दक्षिण अफ्रीकाको भ्रमण गर्नेछन् । डीपीएल इमर्जिङ स्टार्सले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसंग ५० ओभर र दुई दिवसिय क्रिकेट खेल्नेछ ।
दक्षिण अफ्रिकी क्रिकेटर तथा डीपीएल क्रिकेटको गुडविल एम्बासडर जोन्टी रोड्स र सिवाईसी अत्तरियाका प्रशिक्षक मरोन रायनको पहलमा डीपीएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रीका जान लागेका हुन् ।
कुल ४० लाख लाग्ने १५ सदस्सीय टोलीको सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने छ ।