काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणमा आज (सोमबार) रुस्लान थ्री स्टार र सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा हुने खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।
ए डिभिजन क्लब थ्री स्टार र सिक्किम युनाईटेड, दुवै टोली सहज जित निकाल्दै सेमिफाईनल यात्रा तय गर्न चाहन्छन् । भुटानमा जिग्मे दोर्जी बाङचुक स्मृति कपको उपविजेता टोली थ्री स्टार लगत्तै पोखरामा उत्रन लागेको हो ।
प्रतियोगितामा दुबै क्लबले बाई पाएर क्वार्टरफाईनल खेल्न लागेका हुन् । यसअघिको खेलमा विजयी हुँदै विभागीय एपीएफ र त्रिभुवन आर्मी क्लब सेमिफाईनल पुगिसकेका छन् ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै उत्कृष्ट पाँच विधागततर्फका खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।