काठमाडौं । तिलोत्तमा गोल्डकप फुटबलको २१ औँ संस्करणको उपाधि लागि बिभागीय नेपाल पुलिस क्लब र क्यामरुनको दाउफिन्स भिड्दैछन् । रुपन्देहीको एन्फा एकेडेमीमा हुने फाईनल खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।
मैदान उत्रदै गर्दा दुबै क्लबको लक्ष्य उपाधि जित्नुनै हुनेछ ।
पछिल्लो समय मोफसलका प्रतियोगिता खेल्न नेपाल आएको दाउफिन्सले घरेलु फुटबलमा प्रभाव जमाएको छ । मोफसलमा दाउफिन्सको दबदबा रोक्ने विभागीय टिम पुलिसलाई अवसर रहेको छ ।
नेपालमा खेलिएका चार प्रतियोगितामा दाउफिन्सले दुई उपाधि पोल्टमा पारिसकेको छ ।
उसले मनकामना केवलकार पोखरा कप र बुढासुब्बा गोल्डकपको उपाधि उचालेको थियो । यता पुलिस भने मोफसलको सर्वाधिक पुरस्कार राशी खप्तड गोल्डकपको विजेता हो । पुलिस पहिलो पटक तिलोत्तमा गोल्डकपको फाईनल पुगेको हो ।
खप्तड गोल्डकप पछाडी पुलिस सिमरा गोल्डकपमा क्वार्टरफाईनल, मदन भण्डारी गोल्डकपमा सेमिफाईनल, मनकामना पोखरा कपको सेमिफाईनल र बुढासुब्बा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको थियो ।
तिलोत्तमा गोल्डकपमा वाई पाएर सिधै क्वार्टरफाईनल पुगेको पुलिसले पहिलो खेलमा ब्रदर्श युनाइटेडलाई पराजित गरेका थियो । सेमिफाइनलमा च्यासल युथ क्लबको चुनौती पन्छाएको थियो ।
दाउफिन्सले भने झापा र आयोजक रुपन्देहीलाई पराजित गर्दै फाईनल यात्रा गय गरेको हो । प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।