काठमाडौं । त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको १७ औं संस्करणको सेमिफाइनल प्रवेश गरेको छ । आज (आइतबार) पोखरा रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा आर्मीले हिमालयन शेपालाई ३–१ गोल अन्तरले पराजित गर्याे ।
एक गोलले पछि परेको स्थिति उल्टाउँदै आर्मीले दोस्रो हाफमा लगातार तीन गोल गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ नायक रहे । उनले ७ मिनेटको अन्तरमा दुई गोल गरे । यस्तै एक गोल जर्ज प्रिन्स कार्कीले गरे ।
प्रतियोगितामा बाई पाएर सिधै क्वाटरफाइनल खेलेको आर्मीले खेलको २७ मिनेटमै गोल खायो । हिमालयन शेर्पाका त्रिदेभ गुरुङले मिलाएको पासमा गोहा प्याट्रिकले हेडिङ गोल गरे । गोल खाएपछि दबावमा आएको आर्मीले खेलको ७१ मिनेटमा पहिलो गोल गरेकाे थियाे ।
नवयुग श्रेष्ठले हेडिङ गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै खेलको ७९ मिनेटमा गोल गर्दै नवयुगले टिमलाई २–१ को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा गोल गर्दै जर्ज प्रिन्स कार्कीले आर्मीलाई ३–१ को जित दिलाउन सफल रहे ।
यस सिजन आर्मीले मोफसलमा दुई उपाधि हात पारिसको छ । प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै उत्कृष्ट पाँच विधागततर्फका खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सवार्धिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।