काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक जोहान कालिनले नेपाली फुटबलको स्तर सुधार गर्ने बताएका छन् । मुख्य प्रशिक्षकमा नियुक्त भएपछि आईतबार पहिलो पटक पत्रकारसंग भेटवार्ता गर्दै उनले तल्लो तहबाट नेपाली फुटबलको विकासमा आफुले काम गर्ने बताए ।
'मेरो लक्ष्य भनेको नेपाली फुटबलको स्तरलाई सुधार गर्दै लैजाने हो ।' पहिलो पटक पत्रकारमाझ देखिएको कालिनले उद्वेश्य प्रष्टाए ।
एन्फामा नयाँ नेतृत्व आएपछि नेपाली फुटबलको मुख्य प्रशिक्षकमा कोलिनलाई ल्याउने तयारी थियो । २०७० सालमा ए डिभिजन क्लब मछिन्द्रबाट सनसनीपुर्ण नतिजा निकालेका कालिनलाई त्यही समय एन्फा पदाधिकारीले मार्क गरेका थिए ।
पत्रकारमाझ कालिनले आफुलाई एन्फाले कुनै निश्चित लक्ष्य नदिएको धारणा राखे ।
‘कुनै त्यस्तो निश्चित लक्ष्य मैले पाएको छैन । तर नेपाली फुटबललाई सुधार गर्दै अघि बढ्ने बिषयमा एन्फासंग मेरो कुरा भएको छ ।’ उनले भने ।
नेपाली फुटबलमा ठुलो सम्भावना रहेको बताउँदै कालिनले आसन्न साफलाई लक्षित गर्दै तयारी अघि बढ्ने बताए ।
‘म दुई बर्षका लागि आएको हुँ । दुई बर्ष ठिक समय पनि हो । यस समयमा धेरै चिज गर्न सकिन्छ । साफले नेपाली फुटबलमा ठुलो अर्थ राख्छ । हामी त्यसैमा केन्द्रित हुनेछौ ।’ उनले थपे ।
यस्तै, नेपाली टिमका पुर्व मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कालिनसंग मिलेर काम गर्न आफुहरु तयार रहेको बताए ।
'टेक्निकल कमिटिको निर्णय अनुसार कालिनसंग मिलेर काम गर्न हामी धेरै प्रशिक्षक तयार छौ ।' उनले थपे ।
कालिन राष्ट्रिय टिमको तयारीमा जुट्ने भएपछि नेपालको युथ फुटबल टिमको नेतृत्व तत्काल बालगोपाल महर्जनले गर्नेछन् ।
नेपालले अब यु–२३ एएफसी च्याम्पियनसिप छनोट खेल्दैछ । सो च्याम्पियनसिपमा महर्जनले मुख्य प्रशिक्षकको रुपमा नेपाली टिमको नेतृत्व गर्नेछन् । कालिन भने मलेसियासंग मैत्रिपुर्ण खेलको तयारीमा जुट्नेछन् ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल संघ र कालिनबीच भएका सम्झौताका पुर्ण विवरण सार्वजनीक गर्ने बताए ।
'धेरै कागजी प्रक्रिया मिलाउन बाँकी छ । हप्ता दिनमा सबै विवरण सार्वजनीक गर्नेछौ ।' शेर्पाले भने ।