काठमाडौं । आयरल्याण्डविरुद्वको दोस्रो टी–ट्वान्टी खेलमा अफगानिस्तानले तीन विश्व कीर्तिमान कायम राख्दै सिरिजमाथि कब्जा गरेको छ । शनिबार राति भएको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ८४ रनले पराजित गर्ने क्रममा तीन कीर्तिमान कायम राख्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । टी ट्वान्टी क्रिकेटमा २ सय ७८ रन सर्वाधिक ठुलो स्कोर हो ।
हजरत जाजईले नटआउट १ सय ६२ रन बनाएपछि अफगानिस्तानले कीर्तिमानी स्कोर खडा गरेको हो । टी–ट्वान्टी क्रिकेटमा हजरतले बनाएको रन सर्वाधिक दोस्रो ठुलो स्कोर हो ।
उनले ६२ बलमा ११ चौका र १६ छक्काको मदतले सो रन बनाएका थिए । उनी ४२ बलमा सबै भन्दा छिटो सय रन पुरा गर्ने तेस्रो ब्याट्सम्यान बनेका छन् ।
उनले पहिलो विकेटका लागि उसमान घानीसंग मिलेर २ सय ३६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । घानीले समेत ४८ बलमा ७३ रन बनाए ।
२ सय ७९ रनको लक्ष्य सहित मैदान उत्रिएको आयरल्याण्डले ६ विकेटको क्षतिमा १ सय ९४ रन मात्र बनाउन सक्यो । पाउल स्टर्लिङले ९१ र केभिन ओ ब्रोईनले ३७ रन बनाएको ईनिङ्समा सेन गेटकाटेले २४ रन बनाए ।
पछिल्लो जितसंगै अफगानिस्तानले दुई म्यानको टी ट्वान्टी सिरिज २–० ले जितेको छ ।
पहिलो खेलमा अफगानिस्तान ५ विकेटले विजयी भएको थियो ।