काठमाडौं । आहा रारा गोल्डकप फुटबलको १७ औं संस्करणमा आज (आइतबार) विभागीय क्लब त्रिभुवन आर्मी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा आर्मी र हिमालयन शेर्पाबीचको क्वाटरफाइनल खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । दुवै टोली जित हात पार्दै सेमिफाइनलको यात्रा तय गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
आर्मीले प्रतियोगितामा बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । हिमालयन शेर्पाले प्रिक्वाटरफाइनलमा धरान-११लाई १–० गोलले पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो ।
यसअघि भएको दुई टोलीबीच दुई भेटमा आर्मीले खेल आफ्नो पक्षमा पारेको छ । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको भेटमा आर्मी २–१ ले विजयी भएको थियो । यस्तै सडन डेथमा शेर्पालाई पराजित गर्दै विशाल मेमोरियल कप उपाधि आर्मीले हात पारेको थियो । यस सिजन आर्मीले मोफसलमा दुई उपाधि हात पारिसको छ । हिमालयन शेर्पा भने उपाधिविहीन रहेको छ ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै उत्कृष्ट पाँच विधागततर्फका खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सवार्धिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।