काठमाडौं । भारतको गुवाहाटीमा जारी डा ता आओ फुटबल च्याम्पियनसिपमा आज (आइतबार) नेपालको प्रतिनिधित्व गरेको एन्फाको यू–२१ टिम र मिजोरामबीच प्रतिस्पर्धा हुँदैछ ।
एलएनआईपी रंगशालामा नेपाल र मिजोरामबीच खेल पौने ५ बजे सुरु हुनेछ । यसअघि शनिबार भएको खेलमा अभिषेक रिजालको ह्याट्रिक मद्धतमा नेपाल यू–२१ टिमले मणिपुरलाई ३–१ ले हराएको थियो ।
लगातार दोस्रो जित निकाल्ने क्रममा दुवै खेलमा अभिषेकले ह्याट्रिक गरे । त्यसअघि अभिषेकको ह्याट्रिक मद्धतमा नेपालले त्रिपुरालाई ८–० ले हराएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा भने नेपाल मेघालयसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । जारी प्रतियोगितामा नेपालका अभिषेक रिजालले ७ गोल गरिसकेका छन् ।
प्रतियोगिताको समूह 'बी' मा रहेको नेपालको तीन खेलबाट ६ अंक भएको छ । नेपालको समूहमा नागल्याण्ड, मेघालय, मिजोराम, मणिपुर र त्रिपुरा रहेका छन् ।
नेपालले अब अन्तिम खेलमा नागल्याण्डसँग खेल्नेछ । समूहका विजेता र उपविजेताले दोस्रो चरणमा भिड्नेछन् ।