एजेन्सी । केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा निम्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा एम्बाप्पेले लिग वानमा आफ्नो ५० गोल पुरा गर्ने क्रममा क्लबका लागि दुई गोल गरे ।
उनकै गोलको सहयोगमा पीएसजीले लिगमा १७ अंकको अग्रता कायम राख्न सफल भयो ।
क्रिस्टोफर नेकुन्कुले ४० औ मिनेटमा गोल गर्दै घरेलु टोली पीएसजीलाई सूरुवाती अग्रता दिलाए । ६९ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । खेल सकिन एक मिनेट बाँकी छदाँ एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
विश्वकप विजेता फ्रान्सेली टोलीका एम्बाप्पले २० खेलमा २२ गोल गर्न सफल भएका छन् । सबै प्रतियोगिताको ३१ खेलमा उनले २७ गोल गरेका छन् ।
जितपछि शीर्ष स्थानको पीएसजीले २५ खेलबाट ६८ अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ५१ अंक छ । निम्स ३६ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।