काठमान्डौ । विराटनगरमा आयोजना हुने एनसीएल वुमन्स टी–२० फ्रेन्चाईज क्रिकेट लिगका लागि खेलाडी दर्ता खुल्ला गरिएको छ । आयोजकले अक्सनमार्फत छनोट गर्ने खेलाडीका लागि नाम दर्ता सुरु भएको जनाएको हो ।
खेलाडीलाई तीन भागमा वर्गिकरण गरिएको छ ।
पछिल्लो दुई बर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ । दुई बर्षयता टिम बाहिर रहेका खेलाडीलाई दोस्रो श्रेणीमा राखिएको छ । सो श्रेणीमा बन्द प्रशिक्षणमा समावेश हुन सफल भएका र अन्डर १९ राष्ट्रिय टिममा समावेश खेलाडी रहनेछन् । त्यस्तै, क्षेत्रीय एवंम जिल्ला स्तरीय र क्लब स्तरका खेलाडीलाई तेस्रो अथवा सी श्रेणीमा समावेश गरिएको छ ।
खेलाडीको न्युनतम अक्सन मुल्य सोही श्रेणी अनुसारको रहेको छ ।
पहिलो श्रेणीको न्युनतम मुल्य २५ हजार रुपैयाँ रहेको छ । दोस्रोको १५ र तेस्रो श्रेणीका खेलाडीको १० हजार न्युनतम मुल्य रहेको छ ।
खेलाडीले आफ्नो नाम एनसीएल स्पोर्ट्स प्रालि को वेब वेजमा गएर दर्ता गर्न सक्नेछन् । फागुन १० देखि फागुन १८ सम्म नाम दर्ता गर्न सकिने आयोजक संस्थाका अध्यक्ष जयराज रायले बताए ।
महिला राष्ट्रिय क्रिकेट टिमले अन्तराष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निरन्तरता दिन र महिला प्रतियोगिता बढाउन प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता चैत १ गते देखि ९ गतेसम्म विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुनेछ । लिगमा ४ शहरलाई फ्रेन्चाईज गर्ने आयोजकको तयारी छ ।