काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब १७ औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबलको फाईनल प्रवेश गरेको छ । बुटबलस्थित एन्फा मैदानमा शनिबार भएको दोस्रो सेमिफाइनमा पुलिसले भ्याली च्यासललाई ३–१ गोल अन्तरले पराजित गर्याे ।
पुुलिसको जितमा म्यान अफ दि म्याच डिफेन्डर बिक्रम धिमालले दुई गोल गरे । अर्को गोल रवि शंकर पासवानको नाममा रह्यो ।
पुलिसले उपाधिका लागि सोमबार क्यामरुनको दाउफिन्ससँग खेल्नेछ । शुक्रबार भएको पहिलो खेलमा आयोजक लाली रुपन्देहीलाई पराजित गर्दै दाउफिन्स फाईनल पुगेको थियो ।
विक्रम धिमालले १५ औ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तेज तामाङले प्रहार गरेको कर्नर बलमा उनको लेफ्ट फुटे सटले सिधै जाली चुमेको थियो । उनले खेलको दोस्रो हाफमा पुलिसको अग्रता दोब्वर बनाए ।
खेलेको ५८ मिनेटमा भ्याली च्यासल युथ १० खेलाडीमा सिमित भयो । उसका कप्तान अमिर श्रेष्ठ रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
खेलको ८० मिनेटमा पुलिसका रवि पासवानले टोलीका लागि तेस्रो गोल गरे । च्यासलको लागि एक मात्रै गोल सन्त बहादुर गुरुङले खेलको अन्तिम समयमा गरे । यस सिजन खप्तड गोल्डकप जितेको पुलिस त्यसपछि पहिलो पटक फाइनल पुगेको हो ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले बताएको छ ।