काठमाडौं । लिग विजेता मनाङ मस्र्याङ्दीलाई हराउँदै विभागीय टोली एपीएफ पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाईनल पुगेको छ ।
पोखरा रंगशालामा आज (शनिबार) भएको पहिलो क्वार्टरफाइनलमा एपीएफले लिग विजेता मनाङलाई १–० ले पराजित गरेको हो । एपीएफको जितमा एक मात्रै निर्णायक गोल प्रदिप लामाले गरे ।
पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा एपीएफले गोल गरेको हो । खेलको ७१ औै मिनेटमा सन्तोष श्रेष्ठले हानेको कर्नल बलमा प्रदिपले हेड गोल गरेका थिए ।
एक गोलले पछाडी परेको स्थितीमा मनाङ बाँकी समय गोल गर्न सकेन । पुन मोफसलको प्रतिष्ठित प्रतियोगिताबाट बाहिरियो ।
स्ट्राइकर अन्जन विष्ट र कप्तान विराज महर्जन प्लेईङ सेटमा खेलेपनि मनाङले हार टार्न सकेनन् । मोफसलका प्रतियोगितामा उपाधि विहिन भएको मनाङ अब एएफसी कपको तयारीमा जुट्नेछ ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।