धनगढी । च्याम्पियन टोली सिवाईसी अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् ।
गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिएसंगै दिपेन्द्रले गोल्डेन शु (सुनको जुत्ता) प्राप्त गरेका छन् । अत्तरियालाई च्याम्पियन बनाउन दिपेन्द्रले ब्याटिङ र बलिङमा उच्च प्रदर्शन गरेका थिए ।
दिपेन्द्र प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बनेका थिए । दिपेन्द्रले ७ खेलमा १६८ रन जोडेका थिए । यस्तै बलिङमा दिपेन्द्रले १० विकेट हात पारेका थिए । दिपेन्द्र सर्वाधिक विकेट लिने खेलाडीको पाँचौ स्थानमा रहे ।
यस्तै अत्तरियाकै ब्याट्सम्यान सन्नी पटेल प्लेयर अफ दि सिरिज चुनिएका छन् । सन्नीले प्लेयर अफ दि सिरिजसंगै २ लाख नगद प्राप्त गरेका छन् ।
अत्तरियाको जितमा सन्नीको अलराउण्डर प्रदर्शन रहेको थियो । सन्नीले ब्याटिङतर्फ ७ खेलमा २०२ रन जोडेका थिए । यस्तै सन्नी पटेलले ९ विकेट लिएका थिए ।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान अत्तरियाका सन्नी नै चुनिए । उत्कृष्ट बलर अत्तरियाकै भुवन कार्की घोषित भए । भुवन प्रतियोगिताकै सर्वाधिक बढी विकेट लिने खेलाडी हुन् ।
भुवनले रुपन्देहीका ललित सिंह भण्डारीसंग ७ खेलमा १४ विकेट लिएका थिए ।
सन्नी र भुवन दुवैले एक एक लाख नगद प्राप्त गरे ।