धनगढी । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा महेन्द्रनगर युनाईटेडले सीवाईसी अत्तरियालाई जितका लागि १२४ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभरमा अलआउट हुँदै १२३ रन बनायो ।
खराब सुरुवात गरेको महेन्द्रनगरका लागि दिलिप नाथले ४३ तथा कुशल मल्लले २५ रन जोडे । मात्र १४ रन जोड्दा २ विकेट गुमाएको महेन्द्रनगरको इनिङस दिलिप र कुशलले सम्हालेका थिए ।
यस्तै महेन्द्रनगरका रोहित कुमार पौडेलले २४, आरिफ शेख ११ तथा मोहमद नाभिद १० रनमा आउट भए ।
अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २/२ विकेट लिए । सन्नी पटेलले १ विकेट लिए । महेन्द्रनगरका पाँच खेलाडी रन आउट भए ।
शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दिपेन्द्र सिंह ऐरीको अत्तरिया उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । पहिलो पटक डीपीएलको फाइनल पुगेको दुवै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछन् ।
महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको हो । महेन्द्रनगर पहिलो पटक फाइनलमा पुगेको हो । आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगरले अत्तरियासंगको भेट पक्का गरेको हो ।
काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टिम देखिएको छ ।महेन्द्रनगरविरुद्ध अत्तरिया त्यहिँ प्रदर्शनलाई कायम राख्दै पहिलो पटक डीपीएलको ट्रफी उचाल्न चाहन्छ ।
सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित ३० लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।