धनगढी । सर्वाधिक पुरस्कार राशी रहेको तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा अहिले महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा हुने महेन्द्रनगर युनाईटेडले टस जितेको छ । र, पहिले ब्याटिङ रोजेको छ । अत्तरियाले सुरुवातमा बलिङ गर्नेछ ।
शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दिपेन्द्र सिंह ऐरीको अत्तरिया उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । पहिलो पटक डीपीएलको फाइनल पुगेको दुवै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछन् ।
महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको हो । महेन्द्रनगर पहिलो पटक फाइनलमा पुगेको हो । आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगरले अत्तरियासंगको भेट पक्का गरेको हो ।
काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टिम देखिएको छ । अत्तरियाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको छ । महेन्द्रनगरविरुद्ध अत्तरिया त्यहिँ प्रदर्शनलाई कायम राख्दै पहिलो पटक डीपीएलको ट्रफी उचाल्न चाहन्छ ।
महेन्द्रनगरविरुद्ध अत्तरियालाई समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसर समेत हुनेछ । समूह चरणमा अत्तरिया महेन्द्रनगरसंग ७ विकेटले पराजित भएको थियो ।
यस संस्करणको विजेताले ट्रफीसहित ३० लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
अत्तरिया प्लेईङ सेट :
दिपेन्द्र सिंह ऐरी,रित गौतम,कमल सिंह ऐरी,जितेन्द्र सिंह ठकुरी,सन्दीप जोरा,दिपेन्द्र रावल,भुवन कार्की,ज्ञानेन्द्र कुवर, राम नरेश गिरी,सन्नी पटेल, जयकिशन कोल्शावाला
महेन्द्रनगर प्लेईङ सेट : शरद भेषावकर,आरिफ शेख,रोहित कुमार पौडेल,सागर ढकाल,दिलिप नाथ, कुशल मल्ल,अविनाश बोहोरा,साहब आलम,अमर सिंह रौटेला,मोहमद नाभिद,आनन्द सुब्रमनियम