बुटवल । भैरहवामा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज विभागीय टिम नेपाल पुलिस क्लब र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
एन्फा एकेडेमी बुटबलमा पुलिस र च्यासलबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतिस्पर्धाको लागि मैदान उत्रदा दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई 'ए' डिभिजन प्रतिद्वन्दीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
नेपाल पुलिस क्लब खप्तड गोल्डकप विजेता टिम हो । च्यासल भने पहिलो पटक फाइनल पुग्ने योजनामा हुनेछ ।
प्रतियोगितामा बाई पाएको पुलिसले क्वाटरफाइनलमा भारतको ब्रदर्श युनाईटेडलाई पराजित गरेको थियो । यता, च्यासलले लिग उपविजेता संकटालाई प्रिक्वाटरफाइनल र लिग विजेता मनाङलाई क्वाटरफाइनमा पराजित गरेको थियो ।
पुलिस र च्यासलबीचको विजेताले उपाधिका लागि १३ गते क्यामरुनको दाउफिन्ससंग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिले एक थान मोटरसाइकल पाउने आयोजकले जनाए ।