काठमाडौं । पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा आज (शनिबार) लिग विजेता मनाङ मर्स्याङ्दी क्लब र विभागीय क्लब एपीएफबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल दिउँसो २ बजे सुरुहुनेछ । र, दुवै टोली जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छन् ।
लिग विजेता मनाङ मोफसलमा भने उत्कृष्ट खेल पस्कन सकेका छैन । उसका स्ट्राइकर अन्जन विष्ट, विशाल राई र विदेशी खेलाडी एडेलाजा सोमिडे घाइते हुनु नै मोफसलमा खास प्रदर्शन गर्न नसक्नु हो । लिग विजेता मनाङ मदन भण्डारी गोल्डकपको उपविजेता टिम हो भने एपीएफ मनकामना केबलकार पोखरा कपको उपविजेता हो ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट पाँच विधागततर्फका खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सवार्धिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा क्वार्टरफाईनल खेलको टिकट दर १०० रुपैयाँ राखिएको छ ।