एजेन्सी । घरेलु टोलि वेष्ट इण्डिजले इंग्ल्यान्डविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वेष्ट इण्डिजले इंग्ल्यान्डलाई २६ रनले हराएको हो ।
ब्रिजटाउनमा वेष्ट इण्डिजले दिएको २९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्ड ४७ ओभर ४ बलमा अलआउट हुँदै २६३ रनमा समेटियो ।
इंग्ल्यान्डका बेन स्टोक्सले ७९ तथा कप्तान इयान मोर्गनले ७० रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोय रुटले ३६ तथा जोस बटलरले ३४ रन जोडे ।
वेष्ट इण्डिजका शेल्डोन कोट्रेल एक्लैले ५ तथा जासन होल्डरले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पुरै ५० ओभरमा ६ विकेट गुमाएर २८९ रन जोडेको थियो । वेष्ट इण्डिजका शिम्रोन हिटमायरले १०४ रनको शतकीय इनिङस खेले । क्रिस गेलले ५० रनको अर्धशतकीय इनिङस खेले ।
जितसंगै वेष्ट इण्डिजले इंग्ल्यान्डसंगको पाँच खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यसअघि पहिलो खेलमा इंग्ल्यान्डले ४ विकेटको जित निकालेको थियो ।