काठमाडौं । नेपाल यू–१९ राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक अपर्ण कार्कीले भुटानमा आउँदा आफ्नो लक्ष्य ट्रफीनै उचाल्ने रहेको बताएका छन् । फाईनलमा भुटानको टोलीलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका अर्पणले भुटानी भूमीमा आफ्नो सपना पुरा भएको बताए ।
शुक्रबार जिग्मे दोर्जीे बाङ्गचुक स्मृति गोल्डकपको उपाधि भिडन्तमा अर्पण कार्की सम्मिलित भुटानको पारो फुटबल क्लबले नेपालको रुस्लान थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो ।
भुटानमा क्लबबाट खेलेको पहिलो प्रतियोगितामा उपाधि हात पार्न सफल अर्पणले खेलपाटीसँग भने ‘भुटान आउनु मेरो एउटै लक्ष्य थियो, त्यो पुरा भयो । एकदमै खुसी छु ।’
उपाधि विजेता टोली पारो एफसीबाट उत्कृष्ट प्रदर्शन गरेका अर्पणले सेमिफाईनल र फाईनलमा नेपाली क्लबविरुद्वनै खेलेका थिए ।
दुवै खेलमा अर्पणले नेपाली क्लबविरुद्व कुनै गोल नखाई आफुलाई प्रमाणित गरे । भुटानी भूमी अर्पणको लागि भाग्यमानी सावित हुदै आएको छ । उनकै नेतृत्वमा नेपालले यू–१८ साफ च्याम्पियनसिप जितेको थियो ।