काठमाडौँ । सहिद स्मारक बी डिभिजन लिगमा झम्सिखेल युथ र रानीपोखरी कर्नर टिम आरसीटी नकआउट चरण प्रवेशको नजिक पुगेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज (शुक्रबार) भएको पहिलो खेलमा आरसीटीले समुह ए को शीर्षस्थानमा रहेको झम्सिखेललाई २–० ले पराजित गर्यो ।
जितसँगै आरसीटीको ८ अंक भएको छ । यस्तै झम्सिखेलको पनि ८ अंक रहेको छ । आजको हारले झम्सिखेल क्लब आरसीटी भन्दा तल झरेको हो । एक खेल कम खेलेको श्री कुमारीको ६ अंक रहेको छ ।
राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको दुई समुहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश पाउनेछन् ।
आजनै भएको दोस्रो खेलमा टुसाल युथ क्लब र पुल्चोक स्पोर्टस क्लब २–२ को बराबरी खेले । समुह बीको खेलमा शीर्षस्थानमा रहेको टुसाल क्लबले सुरुवाती दुई गोल गरेपनि त्यसलाई जोगाउन सकेन ।
खेलको १३ मिनेटमा करन रावत र १६ मिनेटमा कसिम राईले टुसालको लागि गोल गरेको थिए । पुल्चोकको लागि दुबै गोल टिका राज गुरुङले गरे । उनले खेलको ५५ औ मिनेट र ८५ औ मिनेटमा गोल गर्दै टिमलाई हारबाट जोगाए ।
टुसालको पाँच खेलमा तीन जित र दुई बराबरीका साथ ११ अंक रहेको छ । पुल्चोकले भने दुई जित, दुई हार र एक बराबरी सहित ७ अंक जोडेको छ ।