काठमाडौं । हिमालयन शेर्पा क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा आज (शुक्रबार) भएको खेलमा हिमालयन शेर्पा क्लबले धरान ११ लाई १–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको एक मात्रै निर्णायक गोल म्यान अफ दि म्याच हिमालयन शेर्पा क्लबका डिफेन्डर त्रिदेभ गुरुङले गरे । उनले कप्तान मान बहादुर तामाङको पासमा हेड गोल गरेका हुन् ।
बाँकी समय दुबै तर्फबाट गोलका अवसर सिर्जना भएपनि दुबै टोलीले सदुपयोग गर्न सकेनन् । प्रतियोगितामा भोलीबाट क्वार्टरफाईनलका खेल सुरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा लिग च्याम्पियन मनाङ मस्र्याङ्दी र विभागीय क्लब एपीएफ भिड्नेछन् ।
ए डिभिजन क्लब हिमालनय शेर्पा विशाल मेमोरियल गोल्डकपको उपविजेता टिम हो । आहा राराको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।