काठमाडौं । आयोजक लाली रुपन्देहीलाई पराजित गर्दै क्यामरुनको दाउफिन्स क्लब तिलोत्तमा गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरमा शुक्रबार भएको पहिलो सेमिफाइनमा दाउफिन्सलले आयोजक रुपन्देहीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
उपाधिका लागि दाउफिन्सले नेपाल पुलिस र च्यासल युथ क्लबको बिजेतासंग खेल्नेछ । दाउफिन्सको जितमा डिडर टिनाले दुई गोल गरे ।
उनले खेलको दोस्रो मिनेटमै पेनाल्टीमा गोल गरेका थिए । १० खेलाडीमा सिमित दाउफिन्सका लागि टिनालेनै ८४ औ मिनेटमा अर्को गोल थपे । खेलको ६८ मिनेटमा दाउफिन्सका यात्रिक रेड कार्ड खाँदै मैदान बाहिरिए ।
क्वार्टरफाईनलको खेलमा दाउफिन्सले झापा ११ लाई ५–० गोल अन्तरले हराएको थियो ।
दुई महिना अघि खप्तड गोल्डकप खेल्न नेपाल आएको दाउफिन्सले मनकामना केबलकार पोखरा कप र बुढासुब्बा गोल्डकपको उपाधि हात पारिसकेको छ । क्लबले एन्फासंग अनुमति नलिएर मोफसलका प्रतियोगिता खेलिरहेको छ ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिले एक थान मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।