धनगढी । महेन्द्रनगर युनाईटेड तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
फाप्ला क्रिकेट मैदानमा शुक्रबार तय भएको दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा पुगेको हो ।
डीपीएलको म्याच रेफ्री महोमद सफिक (समिर खान) ले काठमाडौंले खेल बहिस्कार गरेको र काठमाडौंको टिम निर्धारित समयभित्र नआएपछि महेन्द्रनगरलाई विजेता घोषित गरेको जानकारी गराए ।
'डीपीएलको दोस्रो क्वालिफायर्स खेलमा एक टिमले बहिस्कार गरेको हुनाले आईसीसी र डीपीएलको प्लेईङ कन्डिसनको आर्टिकल १६.२१ र १६.२२ को नियम अनुसार एक टोलीले खेल बहिस्कार गरेपछि अर्को टिमलाई अवार्ड दिने नियम रहेको छ,' म्याच रेफ्री खानले भने, 'हामीले बहिस्कार गर्ने टिमसंग छलफल गर्यौ । उनीहरुले नखेल्ने जवाफ दिएपछि नियम अनुसार महेन्द्रनगरलाई अवार्ड दिइयो र महेन्द्रनगरले फाइनल खेल्नेछ ।'
यस्तै डीपीएलको प्राविधिक कमिटिका अध्यक्ष बुद्धि बहादुर प्रधानले काठमाडौंलाई खेलाडीको एक्सनबारे पटक पटक अवगत गराएको तर टिमले अंकितलाई सचेत नगरेको बताए ।
'सुरुवाती खेलमा अंकितको सबै बलिङमा समस्या थिएन् । पछिल्लो २ खेलमा अंकितले निकै खराब बलिङ गरेको थियो,' प्रधानले भने, 'त्यसलाई सुधार गर्न हामीले टिमलाई भनेका थियौं । तर, टिमले उनलाई कुनै जानकारी गराएको पाईएन् । उनलाई त्यहिँ स्थितिमा बलिङ गराउन दिए बिपक्षी टोलीलाई निकै समस्या हुने देखियो । त्यहिँ कारण हामी कारबाही गरेको हो ।'
अब महेन्द्रनगरले उपाधिका लागि सीवाईसी अत्तरियासंग शनिबार खेल्नेछ । अत्तरिया पहिलो क्वालिफायर्समा काठमाडौंलाई नै पराजित गरेर फाइनलमा पुगिसकेको छ ।
काठमाडौंले आफ्ना टोलीको भारतीय बलर अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै क्वालिफायर्स खेल बहिस्कार गरेको हो ।
म्याच रेफ्री के भन्छन् ?